वैकुण्ठेश्वर धाम एवं महादेव मन्दिर

चितवन माडी क्षेत्रको अयोध्यापुरी गा.वि.स. वडा नं  ६ मा अवस्थित वैकुण्ठेश्वर महादेव मन्दिर नेपालका धार्मिक पवित्रस्थल मध्ये एउटा महत्वपूर्ण स्थलको रुपमा प्रमाणित भएको पाइन्छ । सर्वप्रथम यस वैकुण्ठेश्वर धाममा लङ्काका राजा कुँवेरले ध्यान तपस्या गरेका थिए र यसै ठाउँमा पछि व्याधा रत्नाकरले पनि ज्ञान प्राप्त गरेपछि ऋषि वाल्मीकि हुन पुगेको कथन रहेको छ । वाल्मीकि ऋषिका बारेमा हामी जे जति सुन्छौं, पढ्छौं सबै यसै स्थलबाट नै प्राप्त भएको हो । एक दिन कुँवेर शङ्करभक्तको दर्शन गर्न पुष्पक विमान चढी भारतवर्षमा आइरहेको अवस्थामा राक्षस सुमाली र उसकी छोरी कैकसीले देखी उसका बारेमा बुबासँग सोधपुछ गर्दा बाबुले उनी पुलस्त्य ऋषिका नाति विर्सवा ऋषिका पराक्रमी छोरा   कुँवेर  हुन भने । यस्तै पराक्रमी छोरा पाउनका लागि तिमीले विर्सवा ऋषिसँग गएर ऋतुदान लिनु भने । छोरीले पनि बाबुको आज्ञा बमोजिम विर्सवा ऋषिसँग ऋतुदान लिएपछि ३ पुत्र र १ पुत्रीको जन्म भयो । यिनकै जेष्ठ पुत्र रावणले यही वैकुण्ठेश्वरमा आई तपस्या गरेका हुन र शक्ति प्राप्त गरेका हुन भन्ने कथन रहेको छ । यहीं रावणले पछि सीतालाई हरण गरेको र रामले युद्ध गरी लङ्कामाथि विजय प्राप्त गरी सीतालाई अयोध्या ल्याएपछि देशवासीको मनसाय बुझ्ने क्रममा एक धोवीले आफ्नो सम्बन्धमा अपमानजनक बोली बोलेको सुनेपछि सीतालाई पुनः वनबासमा पठाउनु पर्ने अवस्थाको सृजना भएको थियो । उक्त समयमा सीता गर्भिणी थिईन् त्यसैले कुनै सुरक्षित स्थलमा उनलाई पठाउनु पर्ने भएकोले सोची बिचारी यसै वैकुण्ठेश्वर महादेवको स्थलमा ल्याई छाडेका थिए । यो जस्तो पवित्र स्थल, उत्तरवाहिनी रेवा नदी, महेश्वरी नदी, यत्रतत्र शालिग्राम पाइने सर्वशक्तिमान इच्छा पूर्ण हुने स्थान, विभिन्न राजा, ऋषिहरूको पवित्र आश्रम अन्यत्र कतै नभएको हुनाले नै रामले आफ्ना भाइ लक्ष्मणलाई अहराई सिकाई गरी सीतालाई यहाँ ल्याई छाडेका थिए । यही स्थलमा लव कुशले शिक्षा दीक्षा प्राप्त गरी सर्वशक्तिमान भई रामले अश्वमेध यज्ञ गर्ने क्रममा छाडेको घोडा समात्नुका साथै घोडा छुटाउन आएका शत्रुघ्न, हनुमानलाई समेत बन्दी बनाएका थिए । यद्यपि घोडा बाँधेको किल्ला त्रिवेणीधाममा देख्न सकिन्छ । हस्तिनापुरका राजा पाण्डुपुत्रहरूले पनि यही स्थानमा ध्यान तपस्या गरी १२ वर्षसम्मको वनबासको समयमा आफूहरूलाई  कसैले चिन्न नसक्ने शक्ति प्राप्त गरेका थिए । अर्जुनका पुत्र र पत्नी अभिमन्यु र सुभद्राले पनि यसै वैकुण्ठेश्वरधाममा तपस्या गरी भोक, तिर्खा र थकाइ नलाग्ने शक्ति पाएका थिए । भनिन्छ त्यसै समयदेखि नै सुभद्रा मेला लाग्ने गरेको हो । उक्त समयमा यहाँ मानवबस्ती नभएको कारणले नजिकै रहेको मानवबस्तीयुक्त भू–भागमा मेला लाग्न सुरु भयो । हाल उक्त स्थल भारतमा पर्दछ ।

Site Login