सोमेश्वर कालिका

भरतपुरदेखि करिब ४० कि.मि. दक्षिणमा २३८ वर्ग कि.मी क्षेत्रफल ओगटेको माडी उपत्यकामा ४ गा.वि.स. पर्दछन् । प्राकृतिक सौन्दर्यता, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाले धनि हुँदाहुँदै पनि निकुञ्जको काखमा रहेको माडी क्षेत्र अध्ययन अनुसन्धान र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । वगौडा गा.वि.स. वडा नं. ९ मगुई खोलाको शिर छरछरेबाट ४ घण्टाको ट्रेकिङ्गमा पुगिने सोमेश्वर पर्वत हाइटबाट मनोरम सुर्योदय देख्न सकिन्छ । सोमेश्वर कालिकामा पुजा गर्न, छरछरेमा लाग्ने एकादशी मेला हेर्न विभिन्न स्थानबाट दर्शनार्थी आउछन् । सोमेश्वर कालिकालाई प्रत्येक वर्ष माडीवासीले सामुहिक पञ्चवलि दिने गरेको परम्परा हाल आएर छोडिएको छ तर चैते दशैं र वडा दशैंमा भारतबाट समेत तिर्थयात्री आउने गर्दछन् । रानीदह एवम् मुगई खोलामा दुर्लभ चराचुरुङ्गी देख्न सकिने निकुञ्जका क्रियाकलापमा पर्यटकलाई सहभागी गर्न सकिन्छ । सोमेश्वर राष्ट्रिय पर्यटन क्षेत्रद्धारा महत्वपूर्ण क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा छनोट गरि गुरु योजना तर्जुमा गर्दै सोही अनुरुप पुर्वाधार विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको लागि माडी नयाँ गन्तव्यको रुपमा विकास हुने प्रचुर सम्भावना देखिन्छ ।