लामोझरना

नारायणगढ – मुग्लिन मार्गको जलविरे मन्दिरबाट २० मिनेटको पैदल यात्रामा करिब १ कि.मी. उकालो पार गरेपछि चण्डिभञ्याङ्ग गा.वि.स. वडा नं. ९ मा लामो झरना पर्दछ । समतल फाँटहरुले भरिपूर्ण चितवन जिल्लामा प्राकृतिक वरदानको रुपमा यो झरना परापुर्वकालदेखि निरन्तर रुपमा प्रफुलित भएर बगिरहेको छ । करिव ६० मी. अग्लो स्थानबाट सिधै तल चट्टानमा परेको यस झरना प्राकृतिक पानीको फोहोराको रुपमा शोभायमान देखिन्छ । हरिया पहाडहरुको बिचमा शान्त वातावरणमा यस जलवृष्टिको दृश्यावलोकन गरी पर्यटकहरुले भरपुर आनन्द प्राप्त गर्न सक्दछन् । यसैगरी यहाँ रहेका तीनवटा साना पोखरीहरुमा स्नान गर्ने अवसर पनि प्राप्त गर्दछन् । प्रवद्र्धनको अभावमा रहेको यस नयाँ पर्यटकीय गन्तव्य स्थलमा भ्रमण गर्ने पर्यटकहरुले याकराङ र जलविरे गाउँका गुरुङ्ग बस्तीहरुको कला तथा संस्कृतिको अवलोकन गरी थप मनोरञ्जन प्राप्त गर्न सक्दछन् । पहाडी क्षेत्रको यस अतुलनीय उपहार समक्ष सहज पहुँच बनाई प्रचार गर्न सके स्थानिय जनताले होमस्टे सञ्चालन गरी पर्यटनको प्रतिफल प्राप्त गर्न सक्छन । यस लामो झरना क्षेत्रलाई पार्कको रुपमा विकास गर्न आवश्यक छ ।

Site Login